सप्ताहव्यापी ‘रेन्बो ट्राउट उत्सव’ समाप्त आम जनसाधारणको जीवनस्तर उकास्ने खाले यस्ता उत्सवको भिन्नै महत्त्व हुन्छ : मुख्यमन्त्री गोले

0
402

गान्तोक, 4 जनवरी : पश्चिम सिक्किमको श्रीबदाममा सम्पन्न एक हप्ते रेनबो ट्राउट उत्सवको समापनी कार्यक्रममा राज्यका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिको रूपमा उपस्थित रहे। उक्त उत्सवको आयोजना श्रीबदाम रेनबो ट्राउट उत्सव आयोजक समितिले ट्राउट रियरिङ कोअपरेटिभ सोसाइटी लि.-को सहकार्यमा गरेको थियो।

यस अवसरमा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले यो पर्वलाई आम मानिसको जीविकोपार्जन अनि स्थानीयको भविष्यतर्फ झुकाउ राखेको एउटा महत्त्वपूर्ण अवसर भनी बताए। उनले ट्राउट पालन सहकारी समितिलाई क्लस्टर रूपमा ट्राउट पालनको पहल अप्नाएकोमा बधाई दिँदै यसोसले कृषकहरूले आकर्षक आय आर्जन गरेकोमा हर्ष प्रकट गरे। उनले कृषकहरूलाई यो आकर्षक व्यवसायलाई विस्तार गरेर लैजाने हौसला प्रदान गरे। मुख्यमन्त्रीले आफ्नो दृष्टिकोण साझा गर्दै भने, पर्यटन प्रवर्द्धनमार्फत रिञ्चेपोङ समष्टिको विकास गर्ने विचार राखेर यसबारे एउटा सर्वेक्षणको कार्य पनि पूरा भएको छ। पश्चिम जिल्लामा पर्यटन सम्भाव्यता पत्तो लगाउँदै त्यसको प्रवर्द्धन गर्ने उद्देश्यमा राम्बाङ चेक-पोस्ट खोल्ने निश्चित गरेका छौं। यसरी नै मुख्यमन्त्रीले सिक्किम गरीब आवास योजना (एसजीएवाई)-मार्फत सिक्किम सरकारले 450 करोड़ रुपियाँ कोष आवण्टित गरेको जानकारी दिए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा 100 आवश्यकतामुखी परिवारहरू यसबाट लाभान्वित हुने बताए। यसरी नै उनले बजेट सत्रपछि घरको बढ़ोत्तरीको निम्ति वित्तीय अनुदान उपलब्ध गराइने आश्वासन दिए। उनले सु-स्वास्थ्य योजनाअन्तर्गत स्वास्थ्य बीमा नीतिको बारेमा पनि चर्चा गरे जुन बीमाको लाभ सरकारी कर्मचारी, पेन्सनभोगी र निर्भरशील व्यक्तिहरूले पाउनेछन् अनि थप वञ्चित परिवारको निम्ति सरकारले स्वास्थ्य बीमा नीति ल्याउने जानकारी दिए। यति मात्र होइन, चुनाउको बेला आफ्नो पार्टीको घोषणा पत्रमा उल्लेख गरिएका सबै वाचाहरू पूरा गर्ने कुरा उनले दोहोर्‍याए। उनले भने, भिजन दस्तावेजको वृहत पक्षलाई सम्बोधन गर्नको निम्ति आगामी बजेट सत्रमा चाहिनेजति कोष आवण्टित गरिनेछ। उनले राज्य सरकारका कृषकमुखी नीतिहरूमाथि प्रकाश पारे अनि दूध उत्पादकहरूको निम्ति वित्तीय अनुदान दिने कार्यक्रमको शुरूआत पनि आगामी वित्तीय वर्षदेखि गरिने मुख्यमन्त्रीले घोषणा गरे। वृद्धभत्तामा पनि वृद्धि गरिनेछ साथै मासिक रूपमा पेन्सन प्रदान गरिनेछ, मुख्यमन्त्रीले बताए। यसरी नै उनले रेन्बो ट्राउट सहकारी समाज लि.लाई 5 लाख रुपियाँ वित्तीय अनुदान दिने घोषणा गरे। उक्त उत्सवको आयोजक समितिका मुख्य संरक्षक फूर्बा छिरिङ भोटियाद्वारा सुम्पिइएको विकासगत कार्य सम्बन्धित माग-पत्रमाथि सम्बोधन गर्दै उनले यस्ता विकासगत विषयका मागहरू अवश्यै पूरा गरिनेछ भनी आश्वासन दिए।

यसरी नै उक्त समारोहलाई पशुपालन, पशुधन तथा पशुचिकित्सा सेवा विभागका मन्त्री लोकनाथ शर्माले पनि सम्बोधन गरे। उनले श्रीबदाम क्षेत्रको जलवायु ट्राउट माछाको उत्पादनको निम्ति उपयुक्त रहेको बताए। तिनले यस खेतीबाट हुने आकर्षक आयतर्फ कृषकवर्ग आकृष्ट भई लागिपरेको बताए। ट्राउट प्रजातिका माछाको बढ्दो मागबारे थाहा पाउन सकेको खण्डमा श्रीबदामका कृषकहरू राज्यकै सबैभन्दा धनी कृषक बन्नेछन्, मन्त्री शर्माले भने। सरकारले पनि आवश्यक र सहयोगी सबै सुविधाहरू कृषकहरूलाई वितरण गर्दैआएको थप मन्त्री शर्माले उल्लेख गरे। उनले यसको पूर्णआयामको परिणाम प्राप्त गर्नलाई कृषकहरूले पनि ती सहुलियत र सुविधाहरूको उच्चतम सदुपयोग गर्नुपर्छ भनी बताए। यस्ता कृषकहरूको उत्पादको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै बजारीकरण, विपणन विस्तारको निम्ति राज्य सरकारले आवश्यक सबै चाँजो मिलाउने कुरा उनले थप बताए।

मत्स्य पालन निदेशानालयका निदेशक सुनिल प्रधानले ट्राउट माछा पालनको वृतान्त बताए। तिनले इच्छुक कृषकहरूको निम्ति ट्राउट उत्पादन आकर्षक व्यवसाय हुनसक्छ भनी बताए। श्रीबदाम क्लस्टरमा जम्मा 40 ट्राउट पालन एकाई निर्माण गरिएको अनि यसमार्फत कृषकहरूले आफ्नो जीवनस्तर उकास्न सकेको कुरा प्रधानले उल्लेख गरे। उनले बताएअनुसार निकट भविष्यमा विभाग 12 केजी प्रति क्युबिक मिटरबाट यसको उत्पादन वृद्धि गरेर 20 केजी प्रति क्युबिक मिटर पुर्‍याउन इच्छुक छ। आयोजक समितिका मुख्य संरक्षक फूर्बा छिरिङ भोटियाले स्वागत भाषण राख्दै रिञ्चेपोङ निर्वाचन क्षेत्रको पक्षमा केही मागहरू राखेका थिए। उल्लेख्य, कार्यक्रमको पूर्वार्धमा मुख्यमन्त्री पीएस गोलेले माथिल्लो श्रीबदाममा स्थित सामुदायिक ह्याचेरीको निरीक्षण गरे। उनले रेसवे ट्याङ्कीमा माछाका भुराहरू छोड़े। उनले ट्राउट उत्पादनका तक्निकी पक्षबारे जानकारी मागे तथा अधिकारीहरूसित ट्राउट उत्पादनलाई बृहत स्तरमा लैजान के-के गर्नुपर्छ तथा आवश्यकता पर्दछ भनी चर्चा गरे। उक्त बखतमा उनका साथमा पशुपालन तथा पशुधन विभागीय मन्त्री लोकनाथ शर्मा, जलापूर्ति मन्त्री भीमहाङ लिम्बू, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेकोब खालिङ र अन्यान्य सरिक थिए। उक्त अवसरमा ट्राउट उत्सव भलिबल टुर्नामेण्टको फाइनल खेल रिञ्चेपोङ बजार र बुकसोमका रेण्डम बोयजमाझ खेलिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here